काठमाडौं – सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति लागू गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ हिजो राजपत्रमा प्रकाशित भएको छ।
यस नीतिको उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र ऊर्जा क्षेत्रमा आयात निर्भरता घटाउनु रहेको छ। आदेशअनुसार, नेपाल आयल निगमले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ।
इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड र सिमल–तरुल जस्ता कृषि अवशेष प्रयोग गर्न पाइनेछ। तर, खाद्यान्नको दुरुपयोग रोक्न खानयोग्य अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
उद्योगहरूले उत्पादन गरेको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ र गुणस्तर मापदण्ड पालना कडाइका साथ गर्नुपर्ने व्यवस्था गरिएको छ। इथानोलको मूल्य निर्धारण हरेक आर्थिक वर्षको सुरुवातमा सरकारी सिफारिस समितिको सुझावअनुसार हुनेछ र साउन १ गतेदेखि लागू हुनेछ।
यस नीतिको कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढ्ने, नयाँ उद्योग स्थापना हुने र ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
