काठमाडौं – काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने गतिविधिमा निगरानी बढाएको छ।
महानगरले ग्यास उपलब्ध हुँदाहुँदै ग्राहकलाई नदिने, ‘ग्यास छैन’ भनी बढी मूल्य लिने, र इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै पनि उपभोक्तालाई फर्काउने जस्ता गुनासो बढेसँगै निगरानी संयन्त्र सक्रिय बनाएको हो।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना फैलाएर मूल्य वृद्धि गर्ने वा सर्वसाधारणको जीवनमा असहज परिस्थिति सिर्जना गर्नेको खण्डमा कारबाही हुनेछ। नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य प्रति सिलिन्डर १,९१० रुपैयाँ हो। यही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ।”
उहाँले थपे, “ग्यास अभावको आशंकामा उपभोक्ताले बढी माग गरेपछि सञ्चिति हुन थाल्छ र आपूर्ति–मागको चक्रमा असर पर्छ। यसैले उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ। सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग, वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ।”
महानगरले पेट्रोल पम्पहरूले पनि मौज्दात इन्धन हुँदाहुँदै सवारी साधनलाई उपलब्ध नगराउने सूचना प्राप्त गरेको र यस विषयमा निगरानी थालेको जनाएको छ। ग्यास र इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यमा आधारित विवरण महानगरका हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा रिपोर्ट गर्न सकिने व्यवस्था मिलाइएको छ।
ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। अहिले देखिएको समस्या बढी मागका कारण हो, र उपभोक्ताले सञ्चितिका लागि अत्यधिक माग नगरे समस्या देखिँदैन।
