काठमाण्डौ — दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १३ जनाको ज्यान गएको छ। लेबनानी अधिकारीका अनुसार, संयुक्त आपतकालीन बिन्दुलाई निशाना बनाउँदा दुई उद्धारकर्ताको मृत्यु भएको छ। त्यस्तै, नाबातिएहमा एउटा घरमा आक्रमण हुँदा ६ जनाको, दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको आक्रमणमा तीन जनाको, र तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
साथै, इजरायली गोलाहरूले संयुक्त राष्ट्रसंघको अन्तरिम बल (युनिफिल) को नेपाली बटालियन परिसर, मेस अल–जबालमा पनि खसाएका थिए। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको निन्दा गर्दै जनाएको छ कि कुनै नेपाली सैनिक घाइते नभए पनि शान्ति सेनाको केन्द्रमाथि हमला गर्नु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षा गर्ने सिद्धान्तको गम्भीर उल्लंघन हो।
