लेबनन । मध्यपूर्वमा बढ्दो तनावबीच, लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। घटना शुक्रवार दक्षिणपूर्वी लेबननको अलजाबेल, ब्लु लाइन नजिकै भएको हो।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार, नेपाली शान्ति सेनाको क्याम्पमा गोला खसेको भए पनि मानवीय क्षति भने नभएको जानकारी दिइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी पाएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। इसराइली सेनाले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै भने,
“घटना हिजो बेलुकीको हो। अनआइडेन्टिफाइड वस्तु नेप्ब्याडको बटालियन हेडक्वार्टरको एउटा भवनमा लागेको हो। स्रोत र मार्ग खुलेको छैन। यसमा युएनले अनुसन्धान गर्नेछ। घटना हुँदा शान्ति मिसनमा खटिएका सबै नेपाली सैनिक बंकरमा थिए। भवनमा केही आगजनी भएको थियो, जुन पछि निभाइएको थियो। अन्य क्षति छैन।”
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। त्यसपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ। यसको प्रतिकारस्वरूप अमेरिका र इसराइलले लेबननमा आक्रमण तीव्र पारेको समाचार आएको छ।
