काठमाडौं । अल्पविकसित मुलुक समूह (एलडिसी) का अध्यक्ष तथा संयुक्त राष्ट्रसङ्घ का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा ले बहुपक्षीय सहकार्यलाई अघि बढाउन र विकासका दृष्टिले पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको भूमिका अपरिहार्य रहेको बताएका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उक्त धारणा व्यक्त गरेका हुन्।
बैठकमा उनले कार्यादेश कार्यान्वयन प्रक्रियाप्रति एलडिसी समूहको पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै संयुक्त राष्ट्रसंघभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
राजदूत थापाले विकास कार्यक्रम प्रभावकारी बनाउन पर्याप्त स्रोतसाधन सुनिश्चित गर्नुका साथै कार्यादेशको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। यसबाट अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य विकास उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो।
यसै क्रममा उनले संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय (OHRLLS) ले अल्पविकसित मुलुक, विकासशील राष्ट्र तथा साना विकासशील टापु राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दोहा कार्ययोजना को कार्यान्वयनलाई अघि बढाउन गरेको योगदानको सराहना गरेका छन्।
नियोगका अनुसार उक्त बैठकमा विश्वका सबैभन्दा कमजोर आर्थिक अवस्थाका देशहरूको विकास प्राथमिकता, स्रोत व्यवस्थापन तथा बहुपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
