काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकको समय परिवर्तन गरिएको छ। आजका लागि बोलाइएको बैठक भोलि (चैत १ गते) बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी सारिएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फबाट पठाइने उम्मेदवारहरूको नाम सिफारिस गर्नु रहेको छ।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। यसअघि निर्वाचन आयोग नेपाल ले बिहीबार साँझ समानुपातिकतर्फ सिट बाँडफाँड गर्दै सबै राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।
आयोगको सोही समयसीमाभित्र समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउन रास्वपाले सचिवालय बैठक बोलाएको जनाएको छ। बैठकमा समानुपातिक प्रतिनिधित्वसँगै आगामी रणनीतिबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
