सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा अलपत्र परेको छ। गएको शनिबार उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।
घटनास्थलबाटै प्रहरीले १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको थियो। पोस्टमार्टम रिपोर्टअनुसार शारीरिक सम्बन्धपछि भएको अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको उल्लेख गरिएको छ। घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले थप तीन जना बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तस्राव भई उनी अचेत भएको बयान दिएका छन्। उनले इनिशा अचेत भएर ढलेपछि आत्तिएर अन्य तीन जना साथीलाई फोन गरेर घटनास्थलमा बोलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुर्खेत प्रहरीसँग समन्वय गरेर काम गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार छुट्टै अनुसन्धान कक्ष स्थापना गरेर अनुसन्धान अघि बढाइएको छ।
उनका अनुसार पीडित र शंकास्पद व्यक्तिहरूका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भ्याजाइनल स्वाबलगायतका प्रमाण केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ। ती परीक्षणको रिपोर्ट आएपछि मात्रै घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
यसैबीच कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको टोलीले पोलिग्राफ (झुटो पत्ता लगाउने उपकरण) परीक्षणमार्फत पनि अनुसन्धान गरिरहेको छ। विस्तृत अनुसन्धानपछि मात्रै अन्य तीन जनाको संलग्नता भए–नभएको पुष्टि हुने प्रहरीको भनाइ छ।
वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा उक्त दिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन्। विभिन्न स्थानका सीसीटीभी फुटेजमा उनी पक्राउ परेका बालकसँगै हिँडेर जंगलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।
तर पीडित परिवारले भने चारै जनाले सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका छन्। परिवारले चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएको छ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमै पुगेर शव परीक्षण गरेको थियो। परीक्षणमा जबर्जस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
घटना भएको एक सातासम्म पनि वास्तविक तथ्य बाहिर नआएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ। दोषीलाई जोगाउन मृत्युको कारण फरक रूपमा देखाइएको हुन सक्ने उनीहरूको आशंका छ।
मृतक इनिशाकी आमा तिला विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन्। यस घटनामा न्यायको माग गर्दै नागरिक समाज र अधिकारकर्मीहरूले राजधानी काठमाडौंसम्म आवाज उठाएका छन्।
