माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका मा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको अस्पताल सञ्चालनमा आउन नसकेको हो।
लोमान्थाङ–४ स्थित धुराङ क्षेत्रमा निर्माण गरिएको २७ कोठाको दुईतले अस्पताल भवन जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगमा आउन सकेको छैन। संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको लागत साझेदारीमा उक्त अस्पताल निर्माण गरिएको थियो।
आर्थिक वर्ष २०७८/०७९ मा निर्माण सुरु गरिएको अस्पताल भवन गत वर्ष फागुन महिनामा सम्पन्न भएको हो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण काम प्रभावित हुँदा निर्माण कार्य करिब एक वर्ष ढिलो गरी सम्पन्न गरिएको थियो।
निर्माण सम्पन्न भए पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक उपकरणको अभावका कारण अस्पताल सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दाले अपेक्षित स्वास्थ्य सेवा पाउन सकेका छैनन्।
