संयुक्त अरब इमिरेट्स (युएई)मा हवाई हमलासम्बन्धी फोटो तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्तिहरूमाथि कडा कारबाही सुरु गरिएको छ। पछिल्लो समय इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गर्दै ड्रोन र मिसाइल प्रहार गरिरहेको अवस्थामा युएईले यस्तो कदम चालेको हो।
इरानमा अमेरिका र इसराइलको हमलापछि उत्पन्न तनावका कारण युएई लगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। हवाई आक्रमणका क्रममा युएईको प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन नष्ट गरिरहेको दृश्य कैद गरी सामाजिक सञ्जाल तथा वेबसाइटमा राख्ने क्रम बढेपछि प्रहरीले ती सामग्री सार्वजनिक गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न थालेको हो।
बिबिसीका अनुसार हालसम्म १० जनालाई पक्राउ गरी द्रुत सुनुवाइ हुने विशेष अदालतमा पेस गरिएको छ। उनीहरूमाथि हवाई हमलासम्बन्धी श्रव्य–दृश्य सामग्री सार्वजनिक गर्नुका साथै एआईको प्रयोग गरी नक्कली भिडिओ तथा तस्बिर बनाएर त्रास र भ्रम फैलाएको आरोप लगाइएको छ।
यसैबीच, छुट्टै कारबाहीमा विभिन्न देशका थप ४५ जनालाई पनि पक्राउ गरिएको बताइएको छ। उनीहरूमाथि पनि हवाई आक्रमणको भिडिओ खिचेर भ्रामक सूचना फैलाएको आरोप लागेको छ। पक्राउ परेकाहरू कुन–कुन देशका नागरिक हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
गत हप्ता दुबईमा ६० वर्षीय एक बेलायती नागरिक पनि पक्राउ परेका थिए। उनले दुबईको आकाशमा उडिरहेको इरानी मिसाइलको भिडिओ खिचेर सार्वजनिक गरेको आरोपमा साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको हो।
‘डिटेन्ड इन दुबई’ नामक संस्थाकी प्रमुख राधा स्टर्लिङका अनुसार हालसम्म मिसाइल आक्रमणसँग सम्बन्धित भिडिओ तथा सामाजिक सञ्जाल पोस्टका कारण २१ जनामाथि साइबर अपराध कानुनअन्तर्गत आरोप लगाइएको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युएईमा साइबर अपराधसम्बन्धी कसुर प्रमाणित भएमा कम्तीमा दुई वर्ष जेल सजाय र २ लाख युएई दिरामसम्म जरिवाना हुन सक्छ।
अमेरिका–इरान तनाव बढेपछि इरानले युएईतर्फ करिब १८०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको बताइएको छ। तीमध्ये अधिकांश युएईको प्रतिरक्षा प्रणालीले नष्ट पारेको छ। अहिलेसम्मको घटनामा एक नेपालीसहित ६ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
