भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको बताइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन् भने अधिकांश ग्यास पसलमा सिलिण्डर लिन आउनेहरूको लामो लाइन लाग्ने गरेको छ।
लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास नपाएको स्थानीय प्रदीप ज्ञवालीले बताए। नियमित रूपमा भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर बन्दै गएको उनको भनाइ छ।
ग्यास विक्रेताहरूले भने कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नभएको कारण अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्तालाई ग्यास दिन समस्या भएको उनीहरूको भनाइ छ।
यद्यपि भैरहवा भन्सार कार्यालयका अनुसार ग्यास आयात भने नियमित रूपमा भइरहेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ। उनका अनुसार दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी छ।
स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ।
यसैबीच सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले नेपालबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी हुने गरेको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ।
यसैबीच इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको जनाएको छ।
