वासिङ्टन डीसी । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ नेताबारे सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म इनाम दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत आईआरजीसीका प्रमुख व्यक्तिहरूको गतिविधिबारे उपयोगी जानकारी उपलब्ध गराउनेलाई उक्त रकमसम्म पुरस्कार प्रदान गरिने जनाएको हो।
मन्त्रालयका अनुसार सूचीमा रहेका व्यक्तिहरूले विश्वभर आतंकवादी गतिविधि योजना, समन्वय तथा सञ्चालन गर्ने आईआरजीसीका विभिन्न संरचनालाई निर्देशन र नियन्त्रण गर्ने भूमिकामा रहेको आरोप लगाइएको छ।
सूचीमा को–को छन्?
अमेरिकाले सार्वजनिक गरेको सूचीमा १० जना इरानी अधिकारी समावेश गरिएको छ। तीमध्ये प्रमुख व्यक्तिहरू यसप्रकार छन्—
मोजतबा खामेनेई — इरानका सर्वोच्च नेता
अली असगर हेजाजी — सर्वोच्च नेताको कार्यालयका उपप्रमुख
मेजर जनरल यह्या रहिम सफावी — सैन्य सल्लाहकार
अली लारिजानी — सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा सल्लाहकार
ब्रिगेडियर जनरल इस्कन्दर मोमेनी — गृहमन्त्री
इस्माइल खातिब — गुप्तचर तथा सुरक्षा मन्त्री
यसका साथै रक्षा परिषद्का सचिव, सर्वोच्च नेताका अन्य सल्लाहकार तथा आईआरजीसीका केही कमान्डरहरू पनि सूचीमा समावेश गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्भावित सूचनादातालाई सुरक्षित माध्यम प्रयोग गर्न आग्रह गर्दै टीओआर आधारित टिपलाइन वा ‘सिग्नल’ जस्ता इन्क्रिप्टेड प्लेटफर्ममार्फत जानकारी पठाउन सकिने जनाएको छ।
यो घोषणा अमेरिका र इसराइलले हालै इरानका लक्ष्यहरूमा गरेको सैन्य आक्रमणपछि मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच आएको हो।
गत फेब्रुअरी २८ मा भएको बम विस्फोटमा इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि उनका छोरा मोजतबा खामेनेईलाई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो।
सोमबार औपचारिक रूपमा सर्वोच्च नेता बनेका खामेनेई भने अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। इरानी सञ्चारमाध्यमका अनुसार बिहीबार सरकारी टेलिभिजनमार्फत एक प्रस्तोताले उनका सन्देश पढेर सुनाएका थिए।
उक्त सन्देशमा उनले “रगतको बदला रगतले लिने” चेतावनी दिएका थिए भने स्ट्रेट अफ हर्मुज बन्द गर्ने नीति निरन्तर रहने बताएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त हमलामा उनी घाइते भएको दाबी गरेका छन्। उक्त आक्रमणमा उनको खुट्टा भाँचिएको र अनुहारमा समेत चोट लागेको बताइएको छ।
