काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता कायम गर्न अनुगमन तथा क्षमता विकास कार्यक्रमलाई तीव्र बनाएको छ।
कामपाकी खाद्य प्राविधिक भारती अधिकारीका अनुसार उपभोक्तालाई सुरक्षित र स्वच्छ खाना उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवसायीलाई तालिम दिने र नियमित अनुगमन गर्ने काम सँगसँगै अघि बढाइएको छ।
महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले हालसम्म विभिन्न सामुदायिक विद्यालय र अस्पतालका क्यान्टिनमा अनुगमन गरिसकेको छ। अनुगमन गरिएका स्थानमा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको ‘जानकी किचेन’ क्यान्टिन तथा दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको ‘नमो फुड कोड’ क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी अस्पताल सिनामंगलको ‘ग्रीन बड्स बेकरी क्याफे’ क्यान्टिन तथा भरोसा अस्पताल बानेश्वरको ‘सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर’ लगायत रहेका छन्।
बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न महानगरपालिकाले २३ जना मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम दिइसकेको छ। तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित रूपमा खाना तयार गर्ने तथा व्यवस्थापन गर्ने तरिका, पोषणयुक्त दिवा खाजाको व्यवस्था र रोग रोकथाममा स्कुल नर्सको भूमिकाबारे प्रशिक्षण दिइएको थियो।
नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सुरु गरेको थियो भने आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म विस्तार गरिएको छ। काठमाडौँ महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ।
अनुगमनका क्रममा सुधार गर्नुपर्ने विषयहरूमा सम्बन्धित क्यान्टिन सञ्चालकलाई सुझाव दिइएको महानगरपालिकाले जनाएको छ। अखाद्य वस्तुको प्रयोग भएको पाइएमा सम्बन्धित व्यक्तिको उपस्थितिमा त्यस्ता सामग्री नष्टसमेत गरिएको छ।
अनुगमनका क्रममा धेरैजसो विद्यालय क्यान्टिनमा सरसफाइमा लापरवाही देखिएको पाइएको छ। कपडा र खाद्यवस्तु सँगै राख्ने, खाना नछोपी राख्ने, डस्टबिनको उचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरेको जस्ता समस्या भेटिएको महानगरपालिकाले जनाएको छ।
यसैगरी क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टीपीएम भ्यालु मापदण्डविपरीत रहेको, खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँको व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाँडा माझ्ने तथा आगो सुरक्षासम्बन्धी उपकरणमा ध्यान नदिने समस्या समेत देखिएको बताइएको छ।
