काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले उपलब्ध गराउँदै आएको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) सुविधा नलिने घोषणा गरेका छन्।
पूर्वमन्त्री खड्काले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराउँदै आएको पिएसओ सेवा नलिने निर्णय सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताएका छन्। उनका अनुसार पूर्वमन्त्रीको हैसियतमा पाइने सरकारी सुरक्षासम्बन्धी सुविधा नलिने निर्णय उनले स्वेच्छाले गरेका हुन्।
खड्काले जनताको सेवा र सहयोगलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएको बताए। यसअघि सांसद तथा मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने केही सरकारी सेवा–सुविधा पनि उनले आफ्नै गृहजिल्ला सङ्खुवासभाका गरिब तथा विपन्न नागरिकको सहयोगमा प्रयोग गर्दै आएको उल्लेख गरेका छन्।
उनका अनुसार सार्वजनिक पदमा रहँदा पाउने सुविधा भन्दा पनि जनताको हितलाई प्राथमिकता दिनुपर्ने भएकाले पिएसओ सुविधा नलिने निर्णय गरिएको हो।
