भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समिति अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा पछिल्ला दिनहरूमा मुगु र जाजरकोटलगायत जिल्लाबाट केही व्यक्तिहरूलाई सम्पर्कमा ल्याई अनधिकृत रूपमा जग्गा दिलाइदिने गतिविधि बढिरहेको गुनासो आएको बताए।
उनका अनुसार आयोगले विगतदेखि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नियमानुसार लगत सङ्कलन गरी प्रणालीमा दर्ता भएका तथा निस्सा कायम रहेका पुराना र नयाँ निवेदनमाथि काम गरिरहेको छ। बाँके जिल्लाका सबै स्थानीय तहमा भूमि समस्या समाधान आयोग गठन आदेश–२०८१ अनुसार पालिकास्तरमा भूमि शाखा गठन गरी नियमानुसार कार्य भइरहेको उनले बताए।
अध्यक्ष खनालले अनधिकृत रूपमा मानिसहरूलाई सम्पर्क गरी भूमि दिलाइदिने गतिविधि गलत भएको उल्लेख गर्दै त्यस्ता हल्ला र भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरे।
बिहीबार कोहलपुर नगरपालिका क्षेत्रमा केही व्यक्तिले जग्गा दिलाइदिने भन्दै गतिविधि सञ्चालन गरेको सूचना आएपछि आयोग जिल्ला समितिले त्यसप्रति चासो दिएको उनले जानकारी दिए।
अनधिकृत रूपमा जग्गा उपलब्ध गराउने सम्भावना नरहेको भन्दै उनले यससम्बन्धी जानकारी वा परामर्श आवश्यक परे सम्बन्धित स्थानीय तहको भूमि शाखा वा आयोगको जिल्ला समितिमा सम्पर्क गर्न आग्रह गरेका छन्।
