रेड सी । रेड सी क्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोत युएसएस जेराल्ड फोर्डमा आगलागी भएको छ।
अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार बिहीबार जहाजको लाउन्ड्री क्षेत्रबाट आगलागी सुरु भएको थियो। आगलागीमा परी दुई जना अमेरिकी नौसैनिक घाइते भएका छन्।
अमेरिकी नौसेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आगलागी तत्कालै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको जनाएको छ। नौसेनाका अनुसार आगलागी कुनै युद्धजन्य घटना नभई प्राविधिक कारणले भएको प्रारम्भिक निष्कर्ष छ।
नौसेनाले जहाजको मुख्य इन्जिन तथा सञ्चालन प्रणालीमा कुनै क्षति नपुगेको र युद्धपोत अझै पूर्ण रूपमा सञ्चालनयोग्य रहेको जनाएको छ। घाइते भएका दुई नौसैनिकको अवस्था सामान्य रहेको बताइएको छ।
उक्त विमानबाहक जहाज हाल रेड सी क्षेत्रमा तैनाथ रही इरानसँग बढ्दो तनावका बीच अमेरिकी सैन्य गतिविधिलाई समर्थन गरिरहेको छ। अमेरिका करिब एक महिनाअघि यस अत्याधुनिक युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गरेको थियो।
लामो समयदेखि समुद्रमा तैनाथ रहेको यो जहाजका लागि आगलागीको घटना अर्को चुनौती बनेको बताइएको छ। यसअघि पनि सोही युद्धपोतमा पाइपलाइन तथा सरसफाइ प्रणालीसँग सम्बन्धित समस्या देखिएको थियो।
वासिङ्टन पोस्टका अनुसार जहाज गत जुन महिनादेखि निरन्तर समुद्रमा तैनाथ रहेकाले निर्धारित मर्मतसम्भार समय ढिलाइ हुँदा विभिन्न प्राविधिक समस्या देखिन थालेका छन्।
जेराल्ड फोर्ड अमेरिकी नौसेनाको सबैभन्दा नयाँ र अत्याधुनिक विमानबाहक युद्धपोत मानिन्छ। तर लामो समयसम्म समुद्रमा तैनाथ रहँदा जहाजका विभिन्न प्रणालीमा दबाब पर्ने भएकाले यस्ता समस्या देखिन सक्ने सैन्य विश्लेषकहरू बताउँछन्।
अमेरिकी सेनाले आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यसैबीच बिहीबार नै आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटनाग्रस्त भएको थियो। इरान समर्थित समूह ‘इस्लामिक रेसिस्टेन्ट’ले उक्त विमान आफूहरूले खसालेको दाबी गरे पनि अमेरिकी सेनाको सेन्ट्रल कमान्डले त्यस्तो दाबी अस्वीकार गर्दै दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ।
प्रारम्भिक विवरणअनुसार आकाशमै दुई विमान ठोक्किँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ। घटनापछि अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको सेन्ट्रल कमान्डले जनाएको छ।
