बगदाद । इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको अमेरिकी सैन्य इन्धन आपूर्ति गर्ने विमानका चालकदलमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी सेनाको मध्यपूर्व कमान्ड (सेन्टकम)ले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त जानकारी दिएको हो।
सेन्टकमका अनुसार दुर्घटनामा परेको विमानमा रहेका छ चालकदल सदस्यमध्ये चार जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त विमान बोइङको केसी–१३५ स्ट्राटोट्याङ्कर हो, जसले आकाशमै अन्य लडाकु विमानहरूलाई इन्धन भर्ने काम गर्छ।
अमेरिकी सेनाले उक्त विमान मैत्रीपूर्ण हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानले विमान शत्रुको आक्रमण वा आफ्नै पक्षको फायरका कारण खसेको नभएको देखाएको छ।
दुर्घटनाको वास्तविक कारणबारे भने अझै अनुसन्धान भइरहेको सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार घटनामा दुई विमान संलग्न थिए। दुर्घटनाग्रस्त केसी–१३५सँगै उडिरहेको अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताइएको छ।
मृत्यु भएका चार चालकदल सदस्यको नाम भने परिवारलाई आधिकारिक रूपमा जानकारी नदिइएसम्म सार्वजनिक नगरिने अमेरिकी सेनाले जनाएको छ। सामान्यतया यस्तो अवस्थामा परिवारलाई सूचना दिन कम्तीमा २४ घण्टा प्रतीक्षा गरिन्छ।
