काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ।
डा. बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, दम, मुटु तथा हृदयसम्बन्धी समस्या, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुनेजस्ता समस्या देखिने गरेका छन्।
विज्ञहरूका अनुसार प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नु, मुटुसम्बन्धी रोगको जोखिम बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमै क्यान्सरको जोखिम देखिनु, मस्तिष्क विकासमा ढिलाइ हुनु तथा असामान्य व्यवहार देखिनु जस्ता समस्या देखिने गरेका छन्। साथै कुपोषणको समस्या पनि बढ्न सक्ने बताइएको छ।
यस्तै, वायु प्रदूषणका कारण कम तौलका शिशु जन्मिनु, रक्तअल्पता, बाँझोपन, गर्भकालीन मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने पनि विज्ञहरूको भनाइ छ।
मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको मापदण्डको तुलनामा नेपालमा वायु प्रदूषण करिब आठ गुणासम्म बढी रहेको छ। बिहीबार नेपालमा वायु गुणस्तर सूचक (एक्यूआई) १८५ सम्म पुगेको जानकारी मन्त्रालयले दिएको छ।
डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कण (पीएम २.५) को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। यस्ता सूक्ष्म कणहरू हावामा तैरिन सक्ने र श्वासप्रश्वास प्रक्रियामार्फत फोक्सोसम्म पुग्न सक्ने डा. बुढाथोकीले बताए।
वायु गुणस्तर सूचक ० देखि ५० सम्म ‘स्वस्थ’, ५१ देखि १०० ‘सचेत’, १०१ देखि १५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, र १५१ भन्दा माथि पुगेमा ‘अस्वस्थ’ मानिने गरिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यदि वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सकिए प्रत्येक वर्ष नेपालीहरूको औसत आयु करिब ३.३ वर्षले बढ्न सक्छ।
विश्वव्यापी रूपमा पनि वायु प्रदूषण गम्भीर स्वास्थ्य समस्या बनेको छ। विश्वभर हरेक वर्ष करिब ७९ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको र तीमध्ये ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक रहेको बताइएको छ।
वायु प्रदूषण मुख्यतः सवारीसाधनबाट निस्कने धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक तथा निर्माण कार्यबाट उठ्ने धुलो, वन डढेलो तथा किटनाशक र विषादीको प्रयोगलगायतका कारण हुने गरेको छ।
