बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्।
दाङको राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको बताए।
उनले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए। स्वस्थानी व्रतकथामा उल्लेख गरिएको पवित्र स्थलका रूपमा देविकोटको पहिचान रहेको भन्दै यहाँ पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कार्यशैलीमा सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताए। उनले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। युवाहरूको मागअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको उनले जानकारी दिए।
त्यस्तै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यनन्द शर्मा, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
