दार्चुला । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक प्रहरीको मृत्यु भएको छ।
लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रहरी प्रकाश धामी भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टका अनुसार धामी बिहीबार घर फर्किने क्रममा लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि धनगढी लगिएको भए पनि उपचारकै क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
