काठमाडौं । सम्झौताअनुसार समय सकिँदा पनि सम्बद्ध कम्पनी सम्पर्कमा नआएपछि काठमाडौं महानगरपालिकाले बस बिसौनीमा राखिएका विज्ञापन सामग्री हटाउन थालेको छ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेको थियो। सम्झौता सकिएपछि महानगरले सोलारसहित राखिएका २५ वटा बस बिसौनीका विज्ञापन बोर्ड हटाउन सुरु गरेको हो।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार महानगरले उक्त कम्पनीसँग २०६९ भदौ १४ मा पहिलो पटक सम्झौता गरेको थियो। त्यसपछि २०७१ चैत २६ र २०७८ साउन २५ मा सम्झौता नवीकरण गरिएको थियो।
उनले सम्झौताअनुसार काम नभएपछि र राजस्व विभागबाट विज्ञापन बोर्ड हटाउन पत्र प्राप्त भएपछि हटाउने प्रक्रिया सुरु गरिएको बताए।
वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाका अनुसार पछिल्लो सम्झौताअनुसार महानगरले वृद्धि गरेको विज्ञापन करको दरअनुसार कम्पनीले कर बुझाउनुपर्ने थियो। तर कम्पनीले कर नबुझाएकाले समस्या उत्पन्न भएको हो।
महानगरका अनुसार हालसम्म कर र रोयल्टी गरी करिब १६ लाख १३ हजार २२४ रुपैयाँ बुझाउन बाँकी छ। जसमा विज्ञापन कर १५ लाख ८३ हजार ९३९ रुपैयाँ र रोयल्टी २९ हजार २८५ रुपैयाँ रहेको छ।
महानगरले बाँकी रकम बुझाउन पत्राचार गरे पनि हालसम्म भुक्तानी नभएकाले विज्ञापन सामग्री हटाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ।
