बगदाद । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटनाग्रस्त भएको छ।
बीबीसीका अनुसार इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ ट्यांकर विमान पश्चिमी इराकमा दुर्घटना भएको हो। अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार इन्धन भर्न प्रयोग गरिएका दुई विमानमध्ये एउटा दुर्घटनाग्रस्त भएको हो भने अर्को विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको गोलाबारीको संलग्नता देखिएको छैन। अमेरिकी सेनाले अहिले उद्धार कार्य जारी रहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इरान समर्थित एक विरोधी समूहले घटनाको जिम्मेवारी लिएको दाबी गरेको छ। विमानमा कति जना सवार थिए भन्नेबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
केसी–१३५ जस्ता ट्यांकर विमान युद्धका बेला आकाशमै अन्य लडाकु तथा बमवर्षक विमानलाई इन्धन भर्न प्रयोग गरिन्छ, जसले ती विमानलाई लामो दूरीसम्म उडान गर्न सहयोग पुर्याउँछ।
यसैबीच मध्यपूर्व क्षेत्रमा तनाव कायमै छ। इजरायलले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ भने इजरायली रक्षा बल (आईडीएफ) ले इरानबाट क्षेप्यास्त्र प्रहार भइरहेको दाबी गरेको छ।
अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताले सत्ता सम्हालेपछिको पहिलो वक्तव्यमा स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने बताएका छन्। हर्मुज जलडमरूमध्यलाई विश्वभर तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ।
