सुर्खेत । वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयका विद्यार्थीहरूले सहपाठी इनिशा विकको मृत्यु घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलन गरेका छन्।
कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या भएको दाबी गर्दै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा धर्ना दिएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले विद्यालयअगाडि पनि केही समय धर्ना दिएका थिए। घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न उनीहरूको माग छ।
गत २३ फागुनमा वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
पोस्टमार्टम रिपोर्टअनुसार शारीरिक सम्बन्धपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ। घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय एक बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र रक्तश्राव भएपछि उनी अचेत भएको बयान प्रहरीसमक्ष दिएका छन्।
घटनापछि नागरिक समाज र अधिकारकर्मीहरूले पनि निष्पक्ष छानबिन र न्यायको माग गर्दै आवाज उठाइरहेका छन्।
