काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले पाकिस्तानमाथि काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर हवाई आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणमा कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको र १५ जना घाइते भएको बताइएको छ।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार पाकिस्तानका विमानहरूले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेका थिए। उक्त डिपोबाट नागरिक विमान र संयुक्त राष्ट्रसंघका उडानहरूलाई इन्धन आपूर्ति हुँदै आएको उनले बताए।
यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
पछिल्ला केही हप्तादेखि पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव बढ्दै गएको छ। फेब्रुअरीको अन्त्यदेखि दुवै देशले एकअर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। काबुलले सीमाक्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप आफ्ना बलहरूले पाकिस्तानी चौकीहरूमा प्रहार गरेको जनाएको छ।
यता पाकिस्तानले भने आफ्ना कारबाहीहरू पाकिस्तानी तालिबान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ। अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता नदिएको बताउँदै आएको छ।
तालिबान सरकारका अनुसार पछिल्ला आक्रमणहरूमा पक्तिया, पक्तिका लगायतका प्रान्तका नागरिक क्षेत्रहरू समेत प्रभावित भएका छन्। काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार राजधानीमा भएका आक्रमणका कारण बालबालिकासहित चार जना सर्वसाधारणको मृत्यु भएको हो।
यसैबीच चीनका विशेष दूत युए सियाओओङ काबुल भ्रमणपछि इस्लामाबाद पुगेका छन्। उनले पाकिस्तानका विशेष दूत मोहम्मद सादिकसँग भेटेर क्षेत्रीय सुरक्षा, तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) तथा पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (इटिआइएम) जस्ता समूहले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल गरेका छन्।
अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आग्रह गरे पनि पछिल्ला घटनाक्रमले दुई छिमेकी देशबीचको तनाव थप बढ्दै गएको संकेत देखिएको छ। सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण बढाएको इस्लामाबादको दाबी छ। पाकिस्तानले अफगान भूभागबाट सक्रिय ती समूहलाई नियन्त्रण नगरेसम्म आफ्नो सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ।
