काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्था संशोधन गर्ने तयारी गरेको छ।
रास्वपाको विधानको धारा ६६ अनुसार संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। उक्त धाराको उपधारा ८ (ख) मा ‘संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख गरिएको छ। यही प्रावधानलाई समयानुकूल बनाउन संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
उनका अनुसार सबै पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएकाले नयाँ विधि तय गर्न लागिएको हो। हालको विधानमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता बन्ने व्यवस्था छ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको बताइएको छ। पार्टीको विधानअनुसार सरकार गठन हुँदा संसदीय दलको नेताले नेतृत्व गर्ने व्यवस्था भएकाले शाहलाई दलको नेता बनाउन लागिएको हो।
रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षबीच एकता हुँदा बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो। पुस १३ गते भएको सात बुँदे सम्झौतामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको थियो।
रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गर्दै करिब दुईतिहाइ नजिक अर्थात् १८२ सिट हासिल गरेको छ। समानुपातिकतर्फ मात्रै ५७ सिट पाएको पार्टीले जनाएको छ, जसमध्ये ४८ जना महिला सांसद चयन गर्नुपर्ने व्यवस्था छ।
समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची टुंगिएपछि विधान संशोधन गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइने सहप्रवक्ता रावलले जानकारी दिइन्।
