झापा । हल्दीबारी गाउँपालिकामा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–२ का ३७ वर्षीय सुनिलराम सोरेन रहेका छन्। घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका सोरेन राजमिस्त्रीको काम सकेर घर फर्किने क्रममा लडेर पानी जमेको खेतमा डुबेका हुन्।
आज बिहान करिब ७ बजे स्थानीयले शव देखेपछि हल्दीबारी प्रहरी चौकीमा खबर गरेका थिए।
घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी गुरुप्रसाद तिम्सिनाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
