काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा वायु प्रदूषण घट्न थालेको छ। एयर क्वालिटी इन्डेक्स (AQI) का अनुसार बिहीबार मध्याह्नसम्म १७८ रहेको वायु गुणस्तर सूचकाङ्क आज मध्याह्नसम्म घटेर १४९ पुगेको छ।
यसअघि बिहीबार काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा रहेको थियो भने आज बाह्रौँ स्थानमा झरेको छ। पछिल्ला दिनहरूमा मौसम धुम्मिँदा प्रदूषण बढेको थियो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार बिहीबार परेको वर्षाले हावामा रहेका धुलो र प्रदूषणका कण जमिनमा झार्न मद्दत गरेको छ, जसका कारण प्रदूषण घटेको हो।
वातावरणविद् भुषण तुलाधरले वायु प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षणलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार बिहीबारदेखि मौसममा सुधार आएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको नारायणी केन्द्रमा १२६.२ मिलिमिटर मापन भएको छ। त्यसैगरी लमजुङ घरेढुङ्गामा १०२.२ मिलिमिटर, गोरखाको बारपाकमा ९० मिलिमिटर, उदयपुर कटारीमा ९८.४ मिलिमिटर र झापाको चन्द्रगढीमा ९६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
