काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले पारदर्शिता कायम गर्न उम्मेदवार र राजनीतिक दललाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्न आचारसंहिता बनाएको छ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
त्यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार खर्च विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार र दलहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका वा अन्य माध्यममार्फत खर्च विवरण सार्वजनिक गरी त्यसको प्रमाण निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवार र दललाई कानुनअनुसार कारबाही हुने भएकाले उनीहरूले धमाधम विवरण बुझाउन थालेका छन्।
हालसम्म खर्च विवरण बुझाउनेमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहदेखि एमाले नेता सूर्य थापासम्म रहेका छन्।
झापा–५ का उम्मेदवार रास्वपाका बालेन्द्र साह (बालेन)ले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार उनले चुनावमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्। विवरणअनुसार १५ दिनका लागि दुईवटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ। पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ र मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमुना मतपत्र छपाइमा ४९ हजार ८५०, निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। झण्डा र ब्याचसहितका प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरिएको छ।
तनहुँ–१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले पनि आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्। उनले कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्। उनका अनुसार प्रचार सामग्री छपाइ र खरिदमा ६ लाख ५० हजार २९८ रुपैयाँ, विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ तथा खाना–खाजा र अस्थायी बसोबासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ।
चितवन–२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्। विवरणमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाइ ६८ हजार १६१, यातायात तथा इन्धन २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा १४ हजार २०० र प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यस्तै चितवन–३ बाट उम्मेदवार बनेकी रास्वपाकी सोविता गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेको विवरण पेस गरेकी छन्। विवरणअनुसार प्रचार सामग्रीमा ३ लाख १७ हजार ४ सय, सवारी साधन (चालक र इन्धनसहित) ३ लाख २५ हजार, मतदाता प्रशिक्षण ३० हजार, नमुना मतपत्र छपाइ ७४ हजार २ सय र वडास्तरीय प्रचारमा १ लाख रुपैयाँ खर्च भएको छ।
म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण दिएका छन्। यसमध्ये होटलमा खाना र बसोबासका लागि १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ। यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ र चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
एमाले नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्। प्युठान–१ बाट उम्मेदवार बनेका उनले ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रम सञ्चालनका लागि ६ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलले पनि आफ्नो खर्च विवरण पेस गरेका छन्। उनले मतदाता नामावली खरिदमा ५० हजार, सवारी साधनमा ३ लाख ५० हजार, इन्धनमा ३ लाख, प्रचार सामग्रीमा १ लाख ५० हजार, ढुवानीमा १ लाख ५० हजार र गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।
राप्रपा नेता कमल थापाले पनि निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण बुझाएका छन्। उनले २३ लाख १० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्। विवरणअनुसार निर्वाचन कार्यालय व्यवस्थापनमा ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनमा ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनमा ३ लाख ५० हजार र प्रचार सामग्री छपाइ तथा वितरणमा ३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै बुथ व्यवस्थापनमा ३ लाख १० हजार, प्रचारप्रसारका लागि गाडी भाडा र इन्धनमा २ लाख ३५ हजार तथा कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यसपटक कमल थापाले जमानत जोगाउन सकेनन्। गृह जिल्ला मकवानपुर छोडेर काठमाडौं–५ बाट चुनाव लडेका उनले १ हजार ९२२ मत मात्रै प्राप्त गरेका थिए।
अन्य उम्मेदवारहरूले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने क्रम जारी रहेको आयोगले जनाएको छ। काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भएका थिए भने कमल थापा चौथो स्थानमा रहेका थिए।
