काठमाडौँ । धनुषा–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा दायर गरिएको उक्त रिट न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
साहले आफ्नो उम्मेदवारी खारेज भएको निर्णयविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाउँदै फागुन १९ गते रिट दायर गरेका थिए। सोही रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो।
यसैबीच, बिहीबार साहले कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले उनलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
