काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतन्त्रलाई पुनः सही मार्गमा ल्याउने वातावरण बनेको निष्कर्ष निकालेको छ।
पार्टीले मातहतका कमिटीहरूमा ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै विभिन्न आशंका, अनिश्चितता र षड्यन्त्रको पृष्ठभूमिमा असामान्य परिस्थितिमा सम्पन्न भएको निर्वाचनले लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सकारात्मक भूमिका खेलेको उल्लेख गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित निर्देशनपत्रमा मतदाताले दिएको जनादेशलाई सम्मान गर्दै पार्टीले अब संसद्मा जिम्मेवार प्रतिपक्षको रूपमा रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारिएको छ।
नेकपाले भने निर्वाचनमा अपेक्षा गरेअनुसारको परिणाम आउन नसक्नुका विभिन्न कारणहरू रहेको स्वीकार गरेको छ। हालै एकता प्रक्रियाबाट अघि बढेको पार्टीको संगठन समायोजनको काम पूरा नहुँदै निर्वाचनमा सहभागी हुनुपरेको अवस्थालाई प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।
छोटो समयका कारण पार्टीको विचार, नीति, कार्यक्रम तथा नयाँ चुनाव चिह्न जनतामाझ स्थापित गर्न नसकिएको नेतृत्वको बुझाइ छ।
यसका साथै भदौ २३ र २४ गतेका घटनापछि उत्पन्न राजनीतिक अन्योल तथा सञ्चारमाध्यममा फैलाइएका भ्रामक र नकारात्मक प्रचारलाई प्रभावकारी रूपमा चिर्न पर्याप्त समय नपाउँदा परिस्थिति पार्टीको अनुकूल बन्न नसकेको नेकपाको दाबी छ।
