दुबई । संयुक्त अरब इमिरेट्सको दुबईस्थित वित्तीय क्षेत्र नजिक एउटा ड्रोन खसेको छ। दुबईको अल बदाआ क्षेत्रमा बिहीबार उक्त ड्रोन खसेको हो।
समाचारअनुसार ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको बताइएको छ। शेख जायद रोड दुबई अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने मुख्य सडक हो।
अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा इरानले आक्रमण गर्ने चेतावनी दिएपछि उक्त क्षेत्रमा ड्रोन खसेको बताइएको छ।
यसअघि बुधबार केही अमेरिकी बैंकिङ कम्पनी, परामर्श कम्पनी तथा अन्य संस्थाहरूले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्ना कार्यालय बन्द गर्न र कर्मचारीहरूलाई बाहिर जान निर्देशन दिएका थिए।
दुबई मध्यपूर्वको प्रमुख वित्तीय केन्द्रमध्ये एक हो। फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएपछि दुबईसहित खाडी क्षेत्रका देशहरूले इरानी आक्रमणको असर भोगिरहेका छन्।
मध्यपूर्वमा युद्ध सुरु भएयता खाडी क्षेत्रमा भएका विभिन्न आक्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भइसकेको बताइएको छ। मृतकमध्ये सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण नागरिक रहेका छन्।
