काठमाडौँ । सुर्खेतमा १६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाको थप अनुसन्धान प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत सुरु गरेको छ। घटनाको सूक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको टोली तथा नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधिबाट अनुसन्धान भइरहेको छ। उनले पोस्टमार्टम प्रतिवेदनसहित अन्य प्रमाणका आधारमा प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको र प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको जानकारी दिए।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित धेरै प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेका छन्। पीडित तथा संदिग्ध व्यक्तिहरूका मोबाइल फोन डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको छ।
यसका साथै मोबाइललगायत अन्य विद्युतीय सामग्री र घटनास्थलबाट संकलन गरिएका प्रमाणहरू थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छुट्टै अनुसन्धान टोली समेत गठन गरिएको प्रहरीले जनाएको छ।
