काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेकाले राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म प्रभावित हुन सक्ने जनाएको छ।
विभागले सूचना जारी गर्दै नयाँ प्रणालीमा रूपान्तरणको क्रममा केही समय राहदानी वितरण अवरुद्ध हुन सक्ने जानकारी गराएको हो। विभागका अनुसार राहदानी पुस्तिका लगायतका आवश्यक तयारी पूरा भइसकेको छ र एक–दुई महिनाभित्र हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन गरिनेछ।
यस अन्तरिम अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नहुँदासम्म राहदानी वितरणमा समस्या आउन सक्ने विभागले जनाएको छ। विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ।
त्यस्तै राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ। नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागले जनाएको छ।
यस कारण अन्तरिम अवधिमा जिल्ला वा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जानकारी दिएको छ।
त्यसैले असोज महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन विभागले आग्रह गरेको छ।
साथै नयाँ प्रणाली सुरु हुने मिति र उक्त अवधिमा अपनाइने व्यवस्थाबारे अर्को सूचना मार्फत जानकारी गराइने पनि विभागले जनाएको छ।
