नुवाकोट । स्थानीय बासिन्दाको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ। बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएका हुन्।
स्थानीय निरञ्जन सञ्जेलका अनुसार विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर विसर्जन गर्न नदिने अडानसहित काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको छ।
उनले भने, “पटक–पटक भएका उधारो सहमतिका कारण हामी पीडित भएका छौँ। हाम्रा माग पूरा नभएसम्म अवरोध जारी रहन्छ।”
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटाइएको थियो।
नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका–१, ३ र ४ का प्रभावित स्थानीयले दुई जिल्लाको सीमामा रहेको ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यतर्फ जान दिएका छैनन्।
ककनी, बेलकोटगढी र धुनीबेँसीका स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि स्थानीयको आन्दोलनलाई समर्थन गरेका छन्।
