काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताएका छन्। साथै उनले हाल कायम रहेको उच्च भन्सार दरलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष अग्रवालका अनुसार दक्षिण एसियाका अन्य देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा राजस्वको अनुपात १३ देखि १४ प्रतिशत मात्र रहेको छ। तर नेपालमा यो अनुपात १९ दशमलव ९ प्रतिशत पुगेको भन्दै उनले यसले लगानी र व्यापारका लागि प्रतिस्पर्धी वातावरण बन्न नदिएको बताए।
विगतमा लामो समय राजनीतिक अस्थिरता रहेकाले अर्थनीति पनि अस्थिर बनेको उल्लेख गर्दै उनले अब बन्ने बलियो सरकारले अर्थनीतिमा स्थायित्व ल्याउनुपर्ने आवश्यकता औंल्याए।
नियामक निकायको संकुचित मौद्रिक नीतिका कारण पछिल्ला चार वर्षदेखि अर्थतन्त्र अत्यन्तै शिथिल बनेको उनको भनाइ छ। यद्यपि अर्थमन्त्रीको सहकार्यमा नेपाल राष्ट्र बैंकले हालै गरेका केही नीतिगत सुधारप्रति भने उनले सन्तोष व्यक्त गरे।
मुलुकको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रको रहेको उल्लेख गर्दै नीतिगत परिवर्तनको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्ने उनले बताए।
यसलाई ध्यानमा राख्दै आगामी दिनमा कुनै पनि नीति लागू गर्नुअघि नियामकीय प्रभाव मूल्याङ्कन गर्ने प्रथा सुरु गर्नुपर्ने उनको माग छ।
त्यसैगरी पर्यटन र सूचना प्रविधि जस्ता भारविहीन र सीमारहित व्यापारलाई प्रवर्द्धन गर्न लगानीमैत्री नीति ल्याउनुपर्नेमा उनले जोड दिए।
विगतका भूतप्रभावी कर नीतिले निजी क्षेत्रलाई ठूलो अप्ठ्यारो पारेको, नयाँ लेखापरीक्षण प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा अझै कमजोरी रहेको उल्लेख गर्दै उनले यी समस्या तत्काल समाधान गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताए।
