सुडान । सुडान र चाडको सीमास्थित अद्रे नाकामा भएको शक्तिशाली ड्रोन आक्रमणमा पाँच महिलासहित १३ जना सर्वसाधारणको ज्यान गएको छ।
अल जुनैना आपतकालीन कक्ष समन्वय परिषद्का अनुसार ड्रोनले उक्त नाकालाई लक्षित गर्दै चारवटा मिसाइल प्रहार गरेको थियो। आक्रमणमा परी अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
आक्रमणका कारण सीमा क्षेत्रमा रहेको इन्धन बजार पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। मिसाइल प्रहारबाट त्यहाँ पार्किङ गरेर राखिएका नागरिकका सवारीसाधनमा ठूलो क्षति पुगेको छ भने ठूलो परिमाणमा रहेको खाद्यान्न आपूर्ति पनि जलेर नष्ट भएको परिषद्ले जनाएको छ।
मारिएका सबै व्यक्तिहरू साना व्यापारी रहेको बताइएको छ। उनीहरू दैनिक जीविकोपार्जनका लागि चाडको अद्रे सहरबाट परम्परागत गाडामा इन्धन र खाद्यान्न ओसारपसार गर्ने गर्थे।
द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको पछिल्लो हिंसाले मानवीय संकट थप गहिरिएको जनाइएको छ।
