काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद गर्न नलगाउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सबै स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै बीमितलाई बाहिरका औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न नलगाउन स्पष्ट निर्देशन दिइएको हो।
उनका अनुसार केही स्वास्थ्य संस्थाले बीमा अन्तर्गत गरिने उपचारका प्याकेजमा समावेश औषधि पनि बिरामीलाई बाहिरबाट खरिद गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
मल्लले बीमा सेवाअन्तर्गत पर्ने औषधि तथा सामग्री अस्पतालले आफ्नै व्यवस्थापनमा उपलब्ध गराउनुपर्ने उल्लेख गरे। तर कतिपय अस्पतालले ती सामग्री बाहिरका औषधि पसलबाट नगद तिरेर किन्न लगाएको पाइएपछि बोर्डले ध्यानाकर्षण गराएको हो।
स्वास्थ्य बीमा बोर्डले यस्तो कार्य स्वास्थ्य बीमा ऐन २०७५, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका विपरीत भएको जनाएको छ। नियम उल्लंघन गर्ने स्वास्थ्य संस्थामाथि स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) अनुसार कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मले ३ हजार ५ सय रुपैयाँ योगदान गरेपछि एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्ने व्यवस्था छ। साथै थप सदस्यका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ थप योगदान गर्दा २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ।
