काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको देवघाट गाउँपालिकाका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक तथा उत्प्रेरक संयोजकका रूपमा कार्यरत होमबहादुर भारतीविरुद्ध आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारको अनुसन्धानअनुसार भारतीले देवघाट गाउँपालिकामा विभिन्न पदमा कार्यरत रहँदा गैरकानुनी लाभ तथा सुविधा लिन झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले सन् १९९९ (२०५५ साल) मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको दाबी गर्दै ‘सि.नं. 0252431M’ को नक्कली प्रमाणपत्र पेस गरेको खुलेको छ।
सोही नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको हैसियत प्राप्त गर्दै सेवा–सुविधा लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारका अनुसार भारतीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिन्छ। सोही ऐनअनुसार उनलाई कैद तथा जरिवाना सजायको माग गर्दै आयोगले मुद्दा दायर गरेको हो।
सरकारी सेवामा झुट्टा विवरण पेस गरी लाभ लिनु गम्भीर अपराध मानिने भएकाले उनलाई हदैसम्मको कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ।
