काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टीपर्पोज हलको निर्माण प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि पनि स्थायी सभाकक्ष तयार नभएकाले अस्थायी रूपमा मल्टीपर्पोज हललाई बैठक कक्षका रूपमा प्रयोग गर्न तयारी भइरहेको छ। सोही हलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम गर्ने तयारी पनि भइरहेको छ।
सहरी विकास मन्त्रालयका अधिकारीहरूले शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा तयार पारिसक्ने जानकारी अध्यक्ष दाहाललाई गराएका छन्।
निर्माणमा संलग्न अधिकारीहरूका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका स्थायी बैठक कक्ष तयार हुन भने अझै एकदेखि दुई महिना लाग्नेछ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सांसदहरूको शपथग्रहण तथा त्यसपछि हुने प्रतिनिधिसभा बैठकका लागि आवश्यक सबै तयारी समयमै पूरा गर्न निर्देशन दिएका छन्। बैठक कक्षको अव्यवस्थाले राष्ट्रकै बेइज्जत हुने अवस्था आउन नदिन निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन उनले आग्रह गरे।
