काठमाडौँ । मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपालीको उद्धार गरिएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा उनीहरूलाई स्वदेश फर्काइएको जनाएको हो।
दूतावासका अनुसार ती नेपालीहरू कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगी लगायत विभिन्न गैरकानुनी काममा संलग्न गराइएका थिए। साथै उनीहरू बिना भिसा वा भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको पाइएको थियो।
दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा बिहीबार (फागुन २८, २०८२) नेपाल फर्काइएको विज्ञप्तिमा उल्लेख छ।
दूतावासले कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ।
साथै कम्बोडियामा बिना भिसा वा भिसा अवधि सकिएपछि बसिरहेका नेपालीलाई स्वदेश फर्कन सहजीकरणका लागि बैंककस्थित नेपाली दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
