पोखरा । पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमै बसिरहेका बेला उनलाई अचानक हृदयघात भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।
हृदयघात भएपछि उनलाई तत्काल पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
‘हामी कास्की–१ को समीक्षा बैठक सकेर बसिरहेका थियौँ। कुर्सीमै उहाँलाई हृदयघात भयो। लगत्तै अस्पताल लग्यौँ तर डाक्टरले मृत घोषणा गर्नुभयो,’ क्षेत्रीले भने।
कृष्ण थापा २०५४ सालको स्थानीय निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ को स्थानीय निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयर पदका प्रत्याशी बनेका थिए।
नेकपा एमाले कास्कीका इन्चार्ज तथा केन्द्रीय सदस्यसमेत रहेका थापाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट टिकट पाएका थिए। तर पछि सो टिकट फिर्ता लिएर केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिइएपछि उनी असन्तुष्ट बनेका थिए।
