काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वसँग भेटघाट तथा छलफल गरेका छन्।
बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए।
छलफलका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले दिएको सहयोग र सुझावका लागि आभार व्यक्त गरेका छन्। उनले प्रारम्भिक दिनमा आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल सबैको साझा प्रयासबाट सुधार हुँदै गएको बताए।
खनालका अनुसार समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्ने, पुँजी बजारलाई पारदर्शी बनाउने तथा आर्थिक सुशासन कायम गर्ने विषयमा विभिन्न क्षेत्रबाट आएका सुझावअनुसार केही नीतिगत सुधारहरू गरिएको छ।
उनले वर्तमान परिस्थितिका कारण आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका कामहरूबारे आगामी अर्थमन्त्रीलाई जानकारी हस्तान्तरण गर्ने पनि बताएका छन्।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रका मुद्दाप्रति देखाएको चासो र केही माग सम्बोधन गरेको भन्दै धन्यवाद दिएका थिए।
उनीहरूले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले सकारात्मक परिणाम दिने अपेक्षा व्यक्त गरेका छन्। साथै निजी क्षेत्रले मूल्य अभिवृद्धि कर (भ्याट) बहुदर प्रणालीमा लैजानुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीचको अन्तर कम्तीमा दुई तह कायम गर्नुपर्ने, निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने तथा नियामक निकायहरूको प्रभावकारिता परीक्षण गर्नुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
