काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको प्रभाव बढ्दै जाँदा कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ड्रोन आक्रमण भएको छ।
कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार केही ड्रोनले विमानस्थल क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दा केही संरचनामा भौतिक क्षति पुगेको छ। सरकारी समाचार एजेन्सी केयूएनएले सार्वजनिक गरेको वक्तव्यअनुसार आक्रमणबाट कुनै मानवीय क्षति भने भएको छैन।
सुरक्षाका कारण विमानस्थलले यसअघि नै व्यावसायिक उडानहरू स्थगित गरिसकेको थियो भने कुवेतको आकाशमार्ग पनि अस्थायी रूपमा बन्द गरिएको छ।
यो घटना मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच भएको हो। इरानले हालै क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमणहरू तीव्र बनाएको बताइएको छ। यसैक्रममा इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि पनि आक्रमण भएको खबर आएको थियो।
त्यस्तै ओमानमा इन्धन भण्डारण ट्याङ्कमा आगलागी भएको छ भने बहराइनले पनि बिहीबार बिहान आफ्नो देशका इन्धन ट्याङ्कहरूलाई लक्षित गर्दै इरानी आक्रमण भएको दाबी गरेको छ।
