काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै २८२०.४४ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक २३.८७ अंकले वृद्धि भएको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बिहीबार साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। साल्पा विकास बैंकको प्रतिकित्ता मूल्य ९४८ रुपैयाँ ६० पैसा कायम भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्य ८९३ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, कुमारी सबल योजना सर्वाधिक घट्ने सूचीमा परेको छ। उक्त योजनाको मूल्य ३.७२ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ५८ पैसामा झरेको छ। एनआइबिएल ग्रोथ फण्डको मूल्य पनि ३.५४ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ५५ पैसामा सीमित भएको छ।
बिहीबार नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता २९० रुपैयाँ १० पैसामा ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९७ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने दोस्रो सूचीमा एचआइडिसिएलको संस्थापक सेयर रहेको छ। उक्त सेयर प्रतिकित्ता २२० रुपैयाँमा ५६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।
