जुम्ला । जुम्लामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत जुम्लाबाट सुर्खेत लगिएको हो।
घरमै सुत्केरी गराउने प्रयासका क्रममा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरी सुत्केरी गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनलाई सुर्खेत पठाइएको बताइएको छ।
