चितवन । चितवन राष्ट्रिय निकुञ्जले गर्मी मौसममा वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्ज क्षेत्रभित्र पोखरी निर्माण तथा मर्मतको काम सुरु गरेको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई पानी उपलब्ध गराउन, जलचरका लागि वासस्थान बनाउन तथा घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण र मर्मत गरिन्छ।
उनका अनुसार यस वर्ष निकुञ्जभित्र तीन वटा नयाँ पोखरी निर्माण गर्ने र चार वटा पोखरी मर्मत गर्ने योजना रहेको छ। “वन्यजन्तुको बासस्थानको अवस्थालाई ध्यानमा राखेर यस वर्ष पोखरी निर्माण र मर्मतको काम गरिरहेका छौँ,” उनले भने।
निकुञ्जभित्र हाल ५६ वटा पोखरी तथा तालतलैया रहेका छन्। ती सबैको सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका पोखरी र ताललाई प्राथमिकतामा राखेर निर्माण तथा मर्मतको काम भइरहेको उनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल र हात्ती लगायतका वन्यजन्तुको प्रमुख बासस्थान हो। गर्मी बढेसँगै वन्यजन्तुलाई पानीको आवश्यकता बढ्ने भएकाले पोखरी निर्माण गरिएको हो। यसले वन्यजन्तु पानीको खोजीमा बस्ती क्षेत्रमा प्रवेश गर्ने सम्भावनालाई पनि कम गर्ने अपेक्षा गरिएको छ।
९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ।
