काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टलमा हालसम्म ६५ हजार ८ सय ८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वको अवस्थालाई ध्यानमा राख्दै समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि विभागले फागुन १८ गतेदेखि उक्त पोर्टल सञ्चालनमा ल्याएको हो।
विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार पोर्टलमा विवरण दर्ता गर्ने क्रम अझै जारी रहेको छ।
सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ले समस्यामा परेका नेपालीसँग सम्पर्क गर्न सम्बन्धित कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। हालसम्म ५ हजारभन्दा बढी नेपालीले आफू समस्यामा परेको जानकारी गराएका छन्।
यसैबीच मन्त्रालयले मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन आग्रह गर्दै कानुनविपरीत फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड वा आदान–प्रदान नगर्न पनि अनुरोध गरेको छ।
