काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगानी गरेका इङ्ग्ल्यान्डको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका टोलीका प्रशिक्षकहरूले पाकिस्तानी खेलाडीलाई अनुबन्ध नगर्न आफूहरूलाई कुनै निर्देशन नदिइएको बताएका छन्।
गत फेब्रुअरीमा भारतीय स्वामित्व रहेका ‘द हन्ड्रेड’ का टोलीहरूले पाकिस्तानी खेलाडीलाई अनुबन्ध नगर्ने विषयमा विचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै बीबीसी स्पोर्ट्सले रिपोर्ट गरेको थियो।
तर त्यसपछि प्रतियोगितामा सहभागी आठवटै टोली तथा इङ्ग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीलाई राष्ट्रियताको आधारमा बहिष्कार गर्नु उचित नहुने बताएका थिए।
यसबीच हिजो सम्पन्न महिला ‘द हन्ड्रेड’ क्रिकेटको अक्शनमा सहभागी दुई पाकिस्तानी खेलाडीलाई भने कुनै पनि टोलीले अनुबन्ध गरेनन्। आज हुने पुरुषतर्फको अक्शनमा भने १७ जना पाकिस्तानी खेलाडी समावेश छन्।
‘द हन्ड्रेड’ का आठमध्ये चार फ्रेन्चाइज—म्यानचेस्टर सुपर जायन्ट, एमआई लन्डन, साउदर्न ब्रेभ र सनराइज लिड्स—मा आईपीएल टोली सञ्चालन गर्ने कम्पनीहरूको आंशिक स्वामित्व रहेको छ।
भारत र पाकिस्तानबीच सन् २००९ यता बढेको कूटनीतिक तनावका कारण पाकिस्तानी खेलाडीहरूले आईपीएलमा खेल्ने अवसर पाएका छैनन्। त्यसयता भारतीय लगानी भएका टी–२० लिगहरूमा पनि पाकिस्तानी खेलाडीको सहभागिता सीमित हुँदै गएको छ।
