हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारअन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गरिने बताएका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालको थप २०० शय्याको विशिष्टीकृत सेवा भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले प्रमाणपत्र लिने समयसम्म यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गरिसक्ने लक्ष्य रहेको बताए। “यसका लागि प्रदेश सरकारले आवश्यक काम अघि बढाइसकेको छ र छिट्टै पूर्णता पाउनेछ,” उनले भने।
मुख्यमन्त्री बानियाँले लोकतन्त्र गरिबमुखी व्यवस्था भएकाले गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। हेटौँडा अस्पतालमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने पनि उनले बताए।
उनका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल मात्र होइन, प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गर्नुपर्नेछ। प्रतिष्ठानबाट उत्पादन हुने जनशक्तिले प्रदेशका जिल्ला तथा स्थानीय तहका अस्पतालहरूमा सेवा पुर्याउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।
स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढिरहेको मुख्यमन्त्री बानियाँले बताए। उनले हेटौँडा अस्पतालमा डायलाइसिस सेवाका लागि यसअघि १४ वटा मेसिन जडान गरिएकोमा हाल थप १६ वटा मेसिन थपेर कुल ३० वटा पुर्याइएको जानकारी दिए।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले गरिब परिवारका छोराछोरीलाई डाक्टर बन्न छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपचारको अभावमा कसैले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पूर्व स्वास्थ्य मन्त्री एकालाल श्रेष्ठले अस्पतालको नयाँ भवन निर्माणसँगै स्वास्थ्य सेवा विस्तारमा सहजता आउने विश्वास व्यक्त गरे।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार भ्याटसहित कुल २६ करोड ६४ लाख २५ हजार २८० रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो।
