तेहरान । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने संकेत गरेका छन्।
अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणपछि उत्पन्न सुरक्षा अवस्थाका कारण इरानले विश्वकपमा भाग लिन नसक्ने मन्त्री डोन्यामालीको भनाइ छ। आफ्ना खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय लिनुपर्ने अवस्था आएको उनले बताएका छन्।
मन्त्री डोन्यामालीको अभिव्यक्तिबारे इरानी फुटबल सङ्घ तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
४८ टोली सहभागी हुने सन् २०२६ को विश्वकप प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा इरान बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग समूह ‘जी’ मा परेको छ।
यसैबीच अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको खबरपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ।
