लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा सचेतनामूलक साइकल–र्याली तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
‘सबैका लागि मिर्गौला स्वास्थ्य’ भन्ने नारासहित वर्षमा एक पटक मिर्गौला जाँच गरौँ, आफ्नो मिर्गौला बचाऔँ भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न गरिएको हो।
केन डाइबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब र लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा गरिएको साइकल–र्याली कालिका मानविज्ञान विद्यालयबाट सुरु भएको थियो। र्याली बुटवल नगर परिक्रमा गर्दै रामनगर हुँदै तिलोत्तमा नगरपालिका–स्थित बनबाटिका, जानकीनगरमा रहेको केन सेन्टरमा पुगेर समापन भएको थियो।
कार्यक्रममा नेपाल सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष डा. शक्ति बस्नेतले विश्वभर मिर्गौला रोगीको संख्या बढ्दै गएको बताए। उनका अनुसार विश्वमा करिब ७८ करोड मानिस मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन् भने नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै प्रकारको मिर्गौला समस्या देखिने गरेको छ।
केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले आफ्नै परिवारमा मिर्गौला रोगबाट भोग्नुपरेको समस्याले आफूलाई सचेतनामूलक अभियानमा लाग्न प्रेरित गरेको बताए। उनले पछिल्लो समय केन सेन्टरमा उपचारका लागि आउने मधुमेहका बिरामीहरूमध्ये करिब चार सयभन्दा बढीको मिर्गौला जोगाउन सफल भएको जानकारी दिए।
